वीरगंज महानगरपालिकाले बहाल कर संकलनलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने तथा प्यान नम्बर स्थानीय तहबाटै जारी गर्ने विषयमा सरोकारवालासँग छलफल गरेको छ ।
महानगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा बहाल कर संकलनलाई प्रभावकारी बनाउने र कर प्रशासनलाई व्यवस्थित गर्ने विषयमा चर्चा गरिएको हो। महानगरप्रमुख सिंहले बहाल कर संकलन गर्ने अधिकार स्थानीय तहलाई संविधानले दिएको भए पनि हाल उक्त कर संघीय सरकारको मातहत रहेको आन्तरिक राजश्व कार्यालयमा जम्मा हुने भएकाले स्थानीय तहको राजश्व गुमिरहेको बताएका छन्। उनले बहाल कर महानगरपालिकामा बुझाउने व्यवस्था लागू गर्न सबै पक्षको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे ।
बैठकमा आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कर अधिकृत टिकाराज चौलागाईले महानगरपालिकाको अभियानमा सहयोग गर्न कार्यालय तयार रहेको बताउनुभयो । करदाता सेवा कार्यालय खारेज भएपछि स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने उहाँको भनाइ थियो ।
छलफलमा घरबहाल करलाई व्यवस्थित रूपमा संकलन गर्ने, करको दायरा फराकिलो बनाउने तथा महानगरपालिकाबाटै प्यान नम्बर जारी गर्ने सम्भावनाबारे छलफल भएको हो । बैठकमा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, लेखा परीक्षक, लेखा व्यवसायी तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले कर प्रणालीलाई सरल, पारदर्शी र सेवामैत्री बनाउन स्थानीय तह, कर कार्यालय र व्यवसायीबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै कर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।