निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।
आयोगका अनुसार सो दिन बिहान ११ः३० बजे आयोग परिसरमै निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले राजनीतिक दलबाट छनोट भई पेस भएका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरिसकिएको जानकारी दिए ।
आयोगले निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइजका फोटोसहितको विवरण मंगलबारभित्र उपलब्ध गराउन आग्रह गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत तथा ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ ।
आयोगले समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने जनाएको छ ।