सप्तरीमा विभिन्न घटनामा एक महिनामा ११ जनाको मृ*त्यु भएकाे छ भने, ५३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन महिनाभित्रै विभिन्न घटनामा ११ जनाको ज्यान गएको र ५३ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको हाे ।
फागुन महिनामा ट्राफिक दुर्घटना
जिल्लामा फागुनमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कुल १७ वटा ट्राफिक दुर्घटनामा ४ जनाको मृत्यु र २१ जना घाइते भएका छन् ।
सोही अवधिमा २० वटा सवारीसाधन दुर्घटनामा परेको र त्यसको मुख्य कारण ट्राफिक लेन अनुशासनको कमी, सवारी साधनको निर्धारित गतिभन्दा बढी स्पीड र पूर्व–पश्चिम राजमार्ग विस्तारको कामका कारण भएको प्रहरीले विश्लेषण गरेको छ । एक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ सय ७० सवारी साधनमाथि कारवाही भएको र २ लाख ५६ हजार रुपैयाँ जरिवाना सङ्कलन गरिएको सप्तरी प्रहरी प्रमुख एसपी गौतम केसीले जानकारी दिएका छन् ।
यस्तै उक्त अवधिमा करेन्ट लागेर एक जनाको, पानीमा डुबेर तीन जनाको र अन्य घटनामा तीन जनाको मृत्यु भएको छ। एसपी केसीका अनुसार:
- करेन्ट लागेर ४ जना घाइते
- जनावरको आक्रमणबाट २ जना घाइते
- अन्य घटनामा २६ जना घाइते
आत्महत्याका घटनाहरू
एक महिनाभित्र सप्तरीमा सात जनाले आत्महत्या गरेका छन् । यसमा विष खाएर दुई पुरुष, झुन्डिएर एक पुरुष र चार महिला आत्महत्याका घटनाका तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।