बालेन्द्र शाहले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते सरकारले ‘आतंकवादी शैली’मा अत्यधिक बल प्रयोग गरेका कारण भदौ २४ गतेको दुःखद घटना भएको बताएका छन् । उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र सरकारमा सहभागी दलहरूले लिनुपर्ने उल्लेख गरेका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा समेटिएको बयानमा शाहले राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलन शान्त पार्न भूमिका खेलेको बताएका छन् ।
उनको बयानअनुसार, “२४ गतेको घटना दुःखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग तथा आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते काठमाडौँ महानगरपालिकाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो । सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ ।”
बालेन्द्र शाहको बयान (पूर्ण पाठ)
शाहले आयोगसमक्ष दिएको बयानमा भनेका छन्:
“२०८२ साल भदौ २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो तर म आन्दोलनमा सहभागी थिइनँ। व्यवसायी तथा रेष्टुरेन्ट सञ्चालकहरूको आग्रहपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो ।
२३ गते बेलुका स्थिति तनावपूर्ण बन्दै गएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएँ । मेरो सामाजिक सञ्जालमार्फत व्यक्त अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गरेको थियो । जनधनको सुरक्षाका लागि संयमता अपनाउन सामाजिक सञ्जालमार्फत अपिल गरेको थिएँ ।
घटनापछि महानगर प्रहरी बल लगायत अन्य विभागसँग समन्वय गरी घाइते तथा मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो ।
२४ गतेको घटना दुःखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग तथा आतंकवादी शैलीकै परिणाम हुनसक्छ । काठमाडौँ महानगरपालिकाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो ।
सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मैले आन्दोलन शान्त पार्ने भूमिका खेलेको थिएँ । तत्कालीन सरकारले अपराध तथा आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ ।
काठमाडौँ महानगरपालिकाको फोहोर बोक्ने गाडी बञ्चरेडाँडा जाँदै गर्दा अनावश्यक रूपमा रोकिएपछि विरोधस्वरूप ‘मेटाफोर’का रूपमा फेसबुकमा अभिव्यक्ति दिएको हुँ । ‘जलाइदिन्छु’ भन्ने शब्द प्रयोग गरिएको थिएन ।”