केपी शर्मा ओली ले नेकपा एमाले नराम्रो कामका कारण पछाडि परेको नभई राम्रो कामकै कारण पार्टीमाथि हमला भएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले एमाले हतास वा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
‘हामी नराम्रो कामबाट पछाडि परेका होइनौं, राम्रो कामकै कारण हामीमाथि हमला भएको हो। त्यसैले हतास हुनु, हरेश खानु वा मनोबल गिराउनु पर्ने आवश्यकता छैन । हामी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ, किनकि हामी सत्यको पक्षमा छौं,’ उनले भने ।
अध्यक्ष ओलीले वर्तमान विश्व व्यवस्थाप्रति पनि टिप्पणी गर्दै अन्तर्राष्ट्रिय संस्थाहरू निष्प्रभावी बन्दै गएको बताए । उनका अनुसार ‘विश्व व्यवस्था’ भन्ने अवधारणा व्यवहारमा कमजोर बन्दै गएको छ, जसका कारण विश्व राजनीतिमा अराजकता र अन्याय सामान्य जस्तो देखिन थालेको छ ।
उनले एमालेविरुद्ध फैलाइएका भ्रमलाई पार्टीभित्रैबाट प्रभावकारी रूपमा चिर्न नसकिएको स्वीकार गरे। साथै, सामाजिक सञ्जालमा पार्टीको पक्षमा प्रभावकारी प्रचार हुन नसकेको पनि उनले औंल्याए ।