काठमाडौंको नक्सालस्थित भगवानबहालमा ४२ वर्षपछि नागराजको मूर्ति पुनःस्थापना गरिएको छ ।
स्थानीय बासिन्दाले सोमबार छाउनीस्थित राष्ट्रिय संग्रहालयबाट पूजापाठ गरेर नागराजको मूर्ति पुनःस्थापना गरेका हुन् । २०३९ सालमा भगवानबहालबाट चोरी भएको नागराजको मूर्ति अमेरिकाको मेरिलिन बी. आल्सफोर्ड ट्रस्टमा भेटिएको थियो ।
नेपालबाट चोरी भएको उक्त मूर्ति दुवै देशका सरकारी निकाय तथा संघसंस्थाको पहलबाट २०७९ सालमा नेपाल फिर्ता ल्याइएको थियो। त्यसयता मूर्ति छाउनीस्थित संग्रहालयमा राखिएको थियो । स्थानीय बासिन्दाको सक्रियतामा मूर्ति पुनःस्थापना भएपछि भगवानबहालमा विशेष पूजा आयोजना गरिएको थियो ।
स्थानीयहरूले ४२ वर्षपछि नागराजको मूर्ति पुनःस्थापना हुनुले सांस्कृतिक र धार्मिक महत्व रहेको बताएका छन् ।