नेकपा एमाले का कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक प्रदर्शन गरिरहेका कार्यकर्ताहरू दक्षिण गेटतर्फ अघि बढ्दा सुरक्षाकर्मीसँग झडप भएको हो । शनिबार दिउँसो बबरमहल क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेको समूह आक्रोशित बन्दै देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारतर्फ अघि बढेको थियो ।
निषेधित क्षेत्रको सुरक्षाका लागि खटिएका प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गर्दा धकेलाधकेल भएको थियो । त्यसपछि प्रदर्शनकारीहरू जबरजस्ती अघि बढ्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको जनाएको छ ।
प्रहरीको बल प्रयोगपछि उक्त क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ । लाठीचार्जका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्। भिड तितरबितर भए पनि आसपास क्षेत्रमा एमाले कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी जारी राखेका छन् ।
अध्यक्ष ओलीको रिहाइको माग गर्दै प्रदर्शन उग्र बन्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिंहदरबार आसपास र काठमाडौं का मुख्य सडकहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने सो क्षेत्रको यातायात आवागमन समेत प्रभावित बनेको छ ।