जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
शनिबार सार्वजनिक बिदा परेकाले दुवै जनालाई अदालत उपस्थित गराउन नसकिएको प्रहरीले जनाएको छ। आज भने अदालत खुल्नासाथै उपस्थित गराउने तयारी गरिएको छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा आगजनी, तोडफोड र लुटपाट समेत भएको थियो ।
उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
त्यसैअनुसार चैत १४ गते बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
पक्राउपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकको सल्लाह अनुसार त्यहीँ भर्ना गरिएको छ। लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ ।
ओली र लेखक पक्राउ परेपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा एमाले र कांग्रेस कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए ।