नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
शुक्रबार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
यस निर्णयसँगै अब प्राथमिक तहका विद्यार्थीहरूले परम्परागत लिखित परीक्षाको दबाब झेल्नु नपर्ने भएको छ ।
सरकारका अनुसार साना बालबालिकामा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाब न्यूनीकरण गर्दै उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालिएको हो ।
उक्त कार्यसूचीको बुँदा नम्बर ८९ मा कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने व्यवस्था आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने र उनीहरूलाई दबाबरहित वैकल्पिक मूल्याङ्कन प्रणाली विकास गरिने उल्लेख गरिएको छ ।
सरकारले यसलाई बालमैत्री शिक्षा प्रणालीतर्फको महत्वपूर्ण सुधारका रूपमा लिएको जनाएको छ ।