नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले विभिन्न चर्चित प्रकरणहरूमा अनुसन्धान तीव्र बनाउने तयारी गरेका छन् । स्रोतका अनुसार भुटानी शरणार्थी काण्ड र गौर घटनालाई प्राथमिकतामा राख्दै थप कारबाही अघि बढाउने तयारी भइरहेको छ ।
भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल र गौर घटनामा उपेन्द्र यादव माथि अनुसन्धान केन्द्रित हुन सक्ने बताइएको छ ।
गौर घटनामा करिब १८ वर्षअघि रौतहटमा भएको हिंसात्मक झडपमा २७ जनाको मृत्यु र ५३ जना घाइते भएको थियो । उक्त घटनासम्बन्धी मुद्दा पुनः सक्रिय हुने सम्भावना रहेको स्रोतको दाबी छ ।
यसैबीच, भुटानी शरणार्थी काण्ड लाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको छ । उक्त प्रकरणमा विगतदेखि नै उच्च तहका व्यक्तिहरूको संलग्नताको आरोप लाग्दै आएको छ ।
गौरीबहादुर कार्की आयोग को प्रतिवेदनका आधारमा सरकारले हालै कडा कदम चाल्न थालेको देखिन्छ। सोही क्रममा शनिबार बिहान केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गरिएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अब अन्य चर्चित प्रकरणहरूमा पनि कारबाही अघि बढाउने संकेत दिएको छ ।
स्रोतका अनुसार गृहमन्त्री गुरुङले शनिबार सार्वजनिक बिदाकै दिन मन्त्रालयमा फाइल मगाएर अध्ययनसमेत गरेका छन्, जसले आगामी दिनमा थप अनुसन्धान र सम्भावित कारबाहीको संकेत गरेको छ ।