गृहमन्त्री सुधन गुरुङ का अनुसार पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक कुमार खड्का आइतबार बिहान पक्राउ परेका छन् । उनी पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पक्राउको कारणबारे जानकारी दिएका छन् ।
गृहमन्त्रीका अनुसार, “पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको हो ।”
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । उक्त घटनापछि खड्काको घरमा रहेका नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। कतिपय नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको अनुसन्धान गरिरहेको छ। विभागले यसअघि नै घरबाट जलेका नोटका केही टुक्रा र वरपरको खरानी संकलन गरिसकेको छ ।