नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार एमालेले एकैसाथ सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आफ्नो विरोध तथा माग सार्वजनिक गरेको हो । यसैक्रममा नेकपा एमाले पर्सा जिल्ला कमिटीले पनि अध्यक्ष ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ ।
पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष शर्माले अध्यक्ष ओली र नेता लेखकलाई सूर्योदयअघि नै “प्रतिशोधपूर्ण ढंगले” पक्राउ गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
उनले तत्काल रिहाइको माग गर्दै सरकारको कदमलाई “राजनीतिक पूर्वाग्रह र प्रतिशोधयुक्त” भएको आरोप लगाए । त्यस्तै, उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने मागसमेत गरेका छन् ।
कार्यक्रममा एमाले मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, सचिव महेश दास, ओबीसीका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषाद, नेता शम्भु गुप्ता, रिमा यादव, मानदेव हजरा लगायत सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझाउनुअघि वीरगंजमा मोटरसाइकल र्यालीसमेत आयोजना गरिएको थियो ।
गौरबहादुर कार्की आयोगले दोषी ठहर गरेको आधारमा अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै देशव्यापी रूपमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।