सप्तरी प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिसँग दुई वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, स. ६ प. ९०३६ नम्बरको मोटरसाइकल चालक, राजविराज नगरपालिका वडा नम्बर २, पडरिया निवासी ३६ वर्षीय मो. मुस्ताकको साथबाट डाइजेपाम सात, आइपिपिएल सात र फेनरगन नौ गरी जम्मा २३ पिस निषेधित लागु औषध बरामद गरिएको छ ।
त्यसैगरी, लागु औषध खरिद गर्न आएका सप्तकोसी नगरपालिका - ८, ओद्राहा निवासी २३ वर्षीय कृष्णकुमार खङ्ग, सोही स्थानका २५ वर्षीय राजकुमार बहदार र रुपनी गाउँपालिका ६ का शीतल मगरलाई समेत पक्राउ गरी उनीहरूले प्रयोग गरेको को. २९ प. ६१०६ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।
जिल्लाको अग्निसाइर, कृष्णसावरण गाउँपालिका-१, घोधिदाहा स्थित पूर्व–पश्चिम राजमार्गमा लागु औषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी, लागु औषधसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।