राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही जिल्ला समितिले जिल्लामा अनधिकृत रूपमा सञ्चालन गरिने पार्टीसम्बन्धी गतिविधि, भ्रामक सूचना सम्प्रेषण तथा स्वघोषित उम्मेदवारीप्रति कडाइ गर्ने निर्णय गरेको छ ।
जिल्ला समितिले चैत १५ गते एक सूचना जारी गर्दै पार्टीको विधानविपरीत हुने यस्ता कार्यहरू नगर्न सम्बन्धित सबैलाई चेतावनी दिएको हो ।
सर्लाही जिल्ला कार्यालयद्वारा जारी सूचनामा विभिन्न स्थानमा भ्रामक सूचना फैलाउने, अनुमति बिना बैठक तथा पार्टी गतिविधि सञ्चालन गर्ने, पार्टीको विधान र नियमविपरीत कार्य गर्ने तथा मिडिया वा सामाजिक सञ्जालमार्फत स्वघोषित रूपमा ‘म उम्मेदवार’ भनेर घोषणा गर्ने जस्ता गतिविधिहरू भइरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ ।
जिल्ला कार्यसमितिले यस्ता गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीको अनुशासन, विधि–विधान, पद्धति र प्रक्रिया विपरीतका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
सूचनामा चैत १५ गतेदेखि लागू हुने गरी अब उपरान्त कुनै पनि व्यक्ति वा समूहले पार्टीसम्बन्धी कार्यक्रम, बैठक वा गतिविधि सञ्चालन गर्दा सम्बन्धित निकायको पूर्वजानकारी तथा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
यदि कसैले बिनाअनुमति तथा पार्टीको विधानविपरीत गतिविधि सञ्चालन गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई पार्टीको नियमअनुसार कडा अनुशासनात्मक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।