राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा निर्धारित कानुनी प्रक्रिया पूरा गरी काठमाडौं फर्किएका छन् ।
बुधबार सिमरा हुँदै वीरगंज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका हुन् । अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी सोही दिन अपराह्न सुरक्षा व्यवस्थाका बीच काठमाडौं फर्किएको स्रोतले जनाएको छ ।
अदालत परिसरमा उनको उपस्थितिलाई मध्यनजर गर्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भिड व्यवस्थापन गरिएको थियो।
लामिछाने अदालत पुग्दा उनका समर्थकहरू पनि आसपास क्षेत्रमा भेला भएका थिए । यसअघि पनि विभिन्न मुद्दाका सन्दर्भमा लामिछाने पटक–पटक अदालतमा उपस्थित हुँदै आएका छन् ।
पछिल्लो पटकको उपस्थितिसँगै उनले कानुनी प्रक्रियाअनुसारको दायित्व पूरा गरी पुनः काठमाडौं फर्किएका हुन् ।