आवश्यकता भन्दा बढि मन्त्री थपेर संघीयतालाई बदनाम गरेको भन्दै जसपा नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह विरुद्ध नाराबाजी एवं कुर्सी जुलुस प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्री र १२ मन्त्री गरी २० जनाको मन्त्रीपरिषद बनाएको विरोधमा जनकपुरका युवा र विद्यार्थीहरूले मुख्यमन्त्रीको आलोचना गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले संघीयताको मर्मलाई उपेक्षा गरी अनावश्यक रूपमा मन्त्रीहरूको संख्या बढाइएको आरोप लगाए ।
प्रदर्शनका क्रममा नाराबाजी गर्दै मुख्यमन्त्रीको निर्णयलाई फिर्ता लिन माग गरिएको छ । प्रदर्शनकारीहरूले संघीयता बचाउन र संसाधनको सदुपयोग गर्न सरकारलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहको मन्त्रीपरिषदको आकारलाई लिएर जनकपुरमा देखिएको असन्तुष्टि र विरोधले मधेस प्रदेशमा राजनीतिक तरंग ल्याएको छ । प्रदर्शनकारीहरूले मुख्यमन्त्रीको यो कदमले संघीयतालाई कमजोर बनाएको र जनताको भरोसा गुमाएको तर्क गरेका छन् ।