नेपाल सरकारको निर्णयअनुसार अब बैंक तथा वित्तीय संस्था सातामा पाँच दिन मात्र सञ्चालन हुने भएका छन् । शनिबार र आइतबार सार्वजनिक बिदा कायम भएसँगै बैंक तथा वित्तीय संस्थाले पनि सोही व्यवस्था लागू गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले गभर्नरको निर्णयमार्फत चैत २२ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म मात्र कार्यालय खुल्ने व्यवस्था लागू गरेको जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार अब बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ । यो निर्णयसँगै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले पनि सोही समयअनुसार सेवा सञ्चालन गरिरहेका छन् । सोमबारदेखि नै बैंकहरूले बिहान ९ बजेदेखि सेवा सुरु गरिसकेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार शनिबार र आइतबार बिदा दिने तथा शुक्रबार पूर्ण समय सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको हो। केन्द्रीय बैंकमा भने यो निर्णय सोमबारदेखि लागू भइसकेको छ ।
नेपाल राष्ट्र बैंकले आफ्ना मातहतका कार्यालयलाई सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम हुनेछ । सो अवधिमा बैंकिङ कारोबार समय भने बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित रहनेछ ।