रौतहटको चन्द्रनिगाहपुरस्थित मालपोत कार्यालय परिसरबाट एक जना कथित बिचौलिया पक्राउ परेका छन् ।
सरकारी सेवा लिन आउने सर्वसाधारणलाई दुःख दिने तथा अनावश्यक रकम असुल गर्ने गतिविधि बढेपछि प्रहरीले निगरानी तीव्र बनाउँदै यस्तो कारबाही गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–४ स्थित मालपोत कार्यालयबाट कटहरिया नगरपालिका–९ निवासी २४ वर्षीय रितेश कुमार यादवलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार यादव सेवाग्राहीलाई छिटो काम गराइदिने आश्वासन दिँदै सरकारी प्रक्रियामा हस्तक्षेप गर्ने तथा अतिरिक्त रकम लिने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सेवाग्राहीबाट पटक–पटक गुनासो आएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो । सोही क्रममा यादवलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुपालाबुङले सरकारी अड्डामा बिचौलियाको सक्रियता अस्वीकार्य रहेको स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएकी छन् ।
उनका अनुसार पछिल्लो समय मालपोत कार्यालयजस्ता संवेदनशील निकायमा बिचौलियाको चलखेल बढ्दै गएको गुनासोका आधारमा विशेष अभियान सञ्चालन गरिएको हो ।
हाल पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ भने यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले यस्तो कदमले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र अनियमितता नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । उनीहरूले सेवा प्रवाहलाई थप पारदर्शी र सहज बनाउन निरन्तर अनुगमन आवश्यक रहेको बताएका छन् ।