अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट घुसको रकमसहित नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियरलाई पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ पोर्ताहास्थित कोशी साइड रिसोर्ट होटलबाट कञ्चनपुर वितरण केन्द्र, सप्तरीमा कार्यरत प्रमुख इन्जिनियर महेन्द्र कुमार दास (३५, धनुषा जनकपुर उपमहानगरपालिका–९) लाई एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, दासले सोही स्थानका २३ वर्षीय कृष्ण मुरारी यादवसँग ईभी (भ्ख्) चार्जिङ सञ्चालनका लागि आवश्यक १६० केभी विद्युत् उपलब्ध गराइदिने भन्दै घुस मागेको थिए । हाल ९० केभी मात्र सञ्चालनमा रहेको अवस्थामा अतिरिक्त क्षमता उपलब्ध गराउन रकम लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
पक्राउ पर्नुभएका दासलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी लगिएको प्रहरीले जनाएको छ ।