आमसञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशमा दर्ता भएका अनलाइन सञ्चारकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने समाचार लेखन तथा सम्पादन तालिम बुधबार धल्केवर स्थित कोमल होटेलमा सम्पन्न भएको छ ।
प्रदेशका आठै जिल्लाबाट सहभागी सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित उक्त तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो ।
तालिमको उद्घाटन मधेस प्रदेशका अर्थमन्त्री महेश यादवले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटनका क्रममा उनले अनलाइन सञ्चारमाध्यमहरूलाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे ।
उद्घाटन सत्र मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव तथा आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्राधिकरणका निमित्त प्रशासकीय प्रमुख सन्तोषकुमार साहलगायतका कर्मचारीहरूले व्यवस्थापनमा सहयोग पुर्याएका थिए ।
तालिमको पहिलो र दोस्रो दिन नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा तथा प्रशिक्षक कृष्ण अधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा अनलाइन पत्रकारिताको बढ्दो प्रभाव, समाचार सङ्कलनका आधुनिक विधि, सम्पादनका प्राविधिक पक्ष तथा पत्रकारिता आचारसंहिताका विषयमा विस्तृत रूपमा जानकारी दिइएको थियो ।
यसैगरी तालिममा समाचारको संरचना, प्रभावकारी हेडलाइन लेखन, तथा डिजिटल प्लेटफर्ममा समाचारको विश्वसनीयता कायम राख्ने उपायहरूबारे पनि सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो। सहभागी सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमले आफ्नो पेशागत सीप निखार्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
मधेस प्रदेशमा हाल १०४ वटा अनलाइन सञ्चारमाध्यम दर्ता रहेका छन्, र यस तालिममा विभिन्न जिल्लाबाट आएका ६० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम समापनपछि सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।