नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो कानुनी र राजनीतिक लडाईं जारी रहने बताएका छन् ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण तथा अप्रमाणित भएको आरोप लगाएका छन् ।
लेखकले लेखेका छन्, “गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिए पनि अन्ततः म रिहा भएको छु ।”
उनले आफू कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै राजनीतिक तथा कानुनी लडाईं जारी रहने बताएका छन् । साथै, सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार प्रकट गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन दबाएको आरोपमा उनलाई चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतको परमादेशपछि उनी बिहीबार रिहा भएका हुन् ।