स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेस प्रदेशका विभिन्न अस्पतालहरूको सेवा प्रवाह तथा मापदण्डको अवस्था बुझ्न स्थलगत अनुगमन सुरु गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले अस्पतालहरूको वस्तुस्थिति अध्ययन गर्न दुई सदस्यीय टोली खटाएको जनाएको छ ।
अनुगमन टोलीमा उपचारात्मक सेवा महाशाखाका डा. फणिन्द्र प्रसाद बराल र गुणस्तर मापन तथा नियमन महाशाखाका मेडिकल ल्याब टेक्नोलोजिस्ट राजकुमार पाण्डे रहेका छन् ।
टोलीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज सम्बन्धमा प्राप्त गुनासाहरूको सत्यतथ्य विवरण संकलन गर्ने तथा हालै जारी गरिएको ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ अनुसार अस्पताल सञ्चालनको अवस्था अनुगमन गर्ने जिम्मेवारी पाएको छ ।
यसैगरी, गजेन्द्रनारायण सिंह अस्पताल, नारायणी अस्पताल, जनकपुर तथा महोत्तरीलगायत मधेस प्रदेशका अन्य प्रादेशिक अस्पतालहरूमा पनि मन्त्रालयसँगको समन्वयमा स्थलगत अनुगमन गरिनेछ ।
अनुगमनका क्रममा विशेष चेकलिस्टका आधारमा अस्पतालको सेवा र गुणस्तरको मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अनुगमन टोलीलाई स्थलगत अध्ययन सुरु गरेको सात दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।