वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च तरलता र न्यून कर्जा प्रवाहका कारण बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको हो ।
बैंकहरूले हरेक महिनाको मसान्तमा आगामी महिनाको ब्याजदर सार्वजनिक गर्ने क्रममा सोमबार वैशाख महिनाका लागि नयाँ सूची सार्वजनिक गरेका हुन् ।
चैतको तुलनामा वैशाखमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले यथावत राखेका छन् । केही बैंकले घटाउँदा समग्र औसत ब्याजदरमा गिरावट आएको हो ।
व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर चैतमा औसत ४.४९४ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४०० प्रतिशतमा झरेको छ, जुन ०.०९४ प्रतिशत बिन्दुले कमी हो ।
चैतको तुलनामा वैशाखमा ब्याजदर घटाउने बैंकहरूमा एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । यस्तै कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा बैंकले ब्याजदर स्थिर राखेका छन् ।
ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याज पनि घट्ने र त्यसले आधार दरमा असर पार्दै कर्जाको ब्याजदरसमेत घट्ने हुन्छ ।
वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत कायम रहेको छ। एनएमबी बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने अन्य बैंकहरूको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल रहेको छ ।
बैंकहरूमा लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा प्रवाह न्यून हुँदा ब्याजदर घटिरहेको विश्लेषण गरिएको छ । साथै, राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि विभिन्न उपकरण प्रयोग गरी बजारबाट पैसा खिचिरहेको छ ।