बंगलादेशबाट मलेसियातर्फ जाँदै गरेको डुंगा अण्डमान सागरमा दुर्घटना हुँदा करिब २५० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा रोहिङ्ग्या शरणार्थी तथा बंगलादेशी नागरिक रहेको जनाइएको छ ।
संयुक्त राष्ट्र संघअन्तर्गतको शरणार्थी तथा प्रवासनसम्बन्धी एजेन्सीका अनुसार दुर्घटना हिन्द महासागरको पूर्वी किनार क्षेत्रमा पर्ने अण्डमान सागरमा भएको हो ।
बीबीसीका अनुसार माछा मार्न प्रयोग हुने उक्त डुंगा क्षमताभन्दा बढी यात्रु बोकेर मलेसियातर्फ जाँदै थियो । तीव्र हावा, खराब मौसम तथा असुरक्षित समुद्री अवस्थाका कारण डुंगा डुबेको प्रारम्भिक अनुमान गरिएको छ ।
बंगलादेश कोस्ट गार्डका अनुसार अप्रिल ९ मा उनीहरूको एक जहाजले दुर्घटनास्थल नजिकैबाट ९ जनाको उद्धार गरेको थियो । उद्धार गरिएकामध्ये एक रफिकुल इस्लामले करिब ३६ घण्टासम्म समुद्रमा तैरिएपछि ज्यान जोगिएको बताएका छन् ।
दुर्घटना कहिले भएको हो भन्नेबारे स्पष्ट जानकारी भने अझै प्राप्त नभएको जनाइएको छ ।
रोहिङ्ग्या समुदाय म्यानमारको एक अल्पसंख्यक मुस्लिम समूह हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसापछि ठूलो संख्यामा रोहिङ्ग्या नागरिक बंगलादेशमा शरण लिन बाध्य भएका थिए। म्यानमारमा नागरिकता नपाउने र बंगलादेशमा पनि कठिन जीवनयापन गर्नुपर्ने अवस्थाका कारण उनीहरू जोखिमपूर्ण समुद्री यात्रा गर्दै मलेसियातर्फ जाने गरेका छन् ।