मधेस प्रदेश श्रम तथा यातायात मन्त्रालय ले यातायात सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन मातहतका सबै कार्यालयलाई ११ बुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयले तत्काल कार्यान्वयन गर्न पत्राचार गर्दै सेवा सुधारमा ढिलासुस्ती नगर्न स्पष्ट निर्देशन दिएको हो ।
निर्देशनअनुसार सबै यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा हेल्प डेस्क स्थापना गरी नागरिक वडापत्र राख्नुपर्नेछ। साथै सेवाग्राहीको भीड व्यवस्थापनका लागि टोकन प्रणाली लागू गरी लाइन व्यवस्थापन गर्न भनिएको छ ।
गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन गुनासो पेटिका, फेसबुक पेज वा अन्य माध्यमबाट प्राप्त गुनासोको तत्काल समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ । सूचना प्रवाह पारदर्शी बनाउन सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर कार्यालयको वेबसाइट, सूचना पाटी वा डिस्प्ले बोर्डमा अनिवार्य सार्वजनिक गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, सेवाग्राहीका लागि पिउने पानी, सरसफाइ ( विशेषगरी शौचालय र कार्यालय परिसर ) तथा पार्किङ व्यवस्थापन मिलाउन पनि भनिएको छ ।
मन्त्रालयले सेवाको समय सीमा निर्धारण गरी ढिलासुस्ती गर्ने कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। साथै नागरिक सन्तुष्टि मापनका लागि नियमित सर्वेक्षण फारम प्रयोग गर्न निर्देशन दिइएको छ ।
बिचौलिया नियन्त्रणलाई प्राथमिकतामा राख्दै कार्यालयहरूलाई ‘नो मिडल म्यान जोन’ घोषणा गर्न र सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न जोड दिइएको छ ।
यसैगरी प्रत्येक कोठामा स्पष्ट नम्बर राखी सो कोठाबाट हुने कामबारे जानकारी इनामेल पेन्टमार्फत लेख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।