जिल्ला प्रशासन कार्यालय पर्साले त्रिभुवन राजपथ अन्तर्गत गण्डक–मितेरी पुल सडकखण्डमा पर्ने सडक सीमाभित्रका अतिक्रमण हटाउन सूचना जारी गरेसँगै वीरगञ्ज हेल्थ केयर हस्पिटलले आफ्ना संरचना आफैँ भत्काउन सुरु गरेको छ ।
राष्ट्रिय राजमार्गको मापदण्ड कार्यान्वयन गर्ने सरकारी निर्णयलाई सम्मान गर्दै हस्पिटलले सडकको केन्द्रविन्दुबाट २५ मिटरभित्र परेका आफ्ना भौतिक संरचनाहरू हटाउन थालेको हो ।
सडक डिभिजन कार्यालय हेटौँडा र वीरगंज महानगरपालिकाको पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक सीमा खाली गर्न निर्देशन दिएको थियो। प्रशासनले उक्त क्षेत्रभित्र रहेका संरचना, पसल तथा सरसामानहरू वैशाख ६ गते बिहान ४:३० बजे अगावै हटाइसक्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।
सडक विस्तार तथा संरक्षण कार्यमा सहयोग गर्न प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणलाई समेत आह्वान गरेको छ ।
सरकारी निर्णय र कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै संरचना हटाउने कार्य सुरु गरिएको वीरगञ्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डा. अबुल हैस अन्सारीले जानकारी दिए। उनले राज्यको निर्णयप्रति सम्मान जनाउँदै संरचना हटाउन सुरु गरिएको स्पष्ट पारे ।
तर उनले सडक विस्तार तथा अतिक्रमण हटाउने क्रममा घरबारविहीन वा रोजगारी गुम्ने सम्भावना रहेका गरिब तथा असहाय नागरिकका लागि उचित व्यवस्थापन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।