जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको टेम्पोमाथि शनिबार साँझ अचानक रूख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
ज १ घ ४८५० नम्बरको टेम्पो जलेश्वर नगरपालिका – ९ स्थित परिकौली ब्यारेक नजिकै गुडिरहेको अवस्थामा सपेता (मसला) को रूख ढल्दा सवार पाँच जनामध्ये दुई जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका – २०, देवपुरा रूपैठा निवासी ४१ वर्षीया शकुन्तला देवी पण्डित र महोत्तरीको एकडारा गाउँपालिका – ३ निवासी ३३ वर्षीय राहुल मलिक रहेका छन् ।
शनिबार साँझ चलेको हावाहुरीका कारण रूख ढलेर टेम्पोलाई किच्दा चालक जलेश्वर नगरपालिका–११ निवासी ५२ वर्षीय हरेन्द्र ठाकुर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन् ।
दुर्घटनामा मृतक शकुन्तलाकी १४ वर्षीया छोरी रिया पण्डित, महोत्तरीको एकडारा निवासी ४३ वर्षीया फेकनी देवी र जनकपुरधाम उपमहानगरपालिका – १२ निवासी १६ वर्षीय धीरज मण्डल घाइते भएका छन् । उनीहरूलाई प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
जलेश्वर–जनकपुर सडकखण्डको किनारमा रहेको जीर्ण रूख अचानक ढल्दा गुडिरहेको टेम्पो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनालगत्तै स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा उद्धार गरेका थिए । दुवै मृतकको शव हाल प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
स्थानीयवासीले सडक छेउका जोखिमपूर्ण रूखहरूको समयमै व्यवस्थापन नगर्दा यस्ता दुखद घटना दोहोरिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।