सप्तरी प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा डेढ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ ।
साउनदेखि चैत मसान्तसम्म विशेष कार्ययोजना लागू गर्दै अवैध क्रियाकलाप नियन्त्रण तथा कारबाहीका क्रममा कुल १ करोड ५६ लाख २१ हजार ७२१ रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको हो ।
शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतमकुमार केसीले अवैध मालसामान बरामद, लिलामी, फरार प्रतिवादीबाट जरिवाना असुली लगायतका माध्यमबाट उक्त राजस्व सङ्कलन भएको बताए ।
प्रहरीका अनुसार सबैभन्दा बढी भन्सार छली गरी ल्याइएका अवैध मालसामान बरामदबाट १ करोड ७ लाख १४ हजार १६८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै, लिलामी प्रक्रियाबाट १८ लाख ५४ हजार ६१७ रुपैयाँ, फरार प्रतिवादीबाट जरिवाना असुलीबाट २९ लाख ७ हजार ३३६ रुपैयाँ तथा नदीजन्य उत्खननलगायतका कार्यबाट १ लाख ४५ हजार ६०० रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
यस अवधिमा प्रहरीले विभिन्न अपराधका २७८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
त्यसैगरी २ हजार ९६० किलो प्रतिबन्धित लागूऔषध गाँजा, ३८० ग्राम ब्राउन सुगर तथा विभिन्न ब्रान्डका सुई, ट्याबलेट र सिरपसमेत बरामद गरिएको छ । लागूऔषधसहित विभिन्न अपराधमा संलग्न ५३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।