जनकपुरधाम | मधेश प्रदेशको राजधानी जनकपुरधाममा जानकी नवमीको अवसरमा धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै नौदिने धार्मिक महोत्सव आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ नेपाल (इस्कोन) मन्दिरले जनकपुत्री अर्थात् माता सीताको जन्मोत्सव (जानकी नवमी) को अवसरमा उक्त नौदिने धार्मिक महोत्सवको आयोजना गरेको हो ।
महोत्सव वैशाख ५ गते शनिबारदेखि सुरु भएको हो भने वैशाख १३ गते जगन्नाथ रथ यात्रापछि समापन हुने जनाइएको छ । महोत्सवअन्तर्गत दुग्धमति नदी किनारस्थित इस्कोन मन्दिर परिसरमा श्रीमद्भागवत कथा, जानकी जीको महाभिषेक उत्सव, पूजा–अर्चना तथा प्रसाद वितरणजस्ता धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
इस्कोन जनकपुरधामका अध्यक्ष रामेश्वरम दासले जानकी नवमीको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रमअन्तर्गत कथावाचन, किर्तन, जानकी जीको महाअभिषेक तथा जगन्नाथ रथ यात्रासहितका कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले यस कार्यक्रममार्फत विभिन्न देशका पर्यटकहरूको आगमनले जनकपुरधाममा धार्मिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको बताउनुभयो ।
महोत्सवअन्तर्गत ११ गतेसम्म दैनिक दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म अनन्त कृष्ण दास गोस्वामी महाराजको विशेष उपस्थितिमा श्रीमद्भागवत कथा वाचन गरिनेछ । त्यस्तै, विशेष दिन १२ गते जानकी नवमीको अवसरमा किर्तन, कथा, महाभिषेक तथा सहभागी भक्तजनलाई प्रसाद वितरण कार्यक्रम रहने आयोजक समितिले जनाएको छ ।
साथै, सो अवसरमा इस्कोन मन्दिरको शिलान्यास समेत गरिने संस्थाका उपाध्यक्ष रमेशकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर निर्माणको प्रारम्भिक चरणमा करिब २५ करोड रुपैयाँ लगानी गरिने छ भने दीर्घकालीन रूपमा करिब २ अर्ब रुपैयाँ बराबरको परियोजना अघि बढाइने योजना रहेको छ ।