सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाट क्षेत्रमा मनपरी रूपमा नदीजन्य पदार्थ (गिट्टी, बालुवा) उत्खनन भइरहेको पाइएको छ ।
सीमा विवादको फाइदा उठाउँदै अन्धाधुन्ध उत्खनन भइरहेको स्थानीय तथा जनप्रतिनिधिहरूले बताएका छन् । अवैध तथा अनियन्त्रित उत्खनन भइरहेको गुनासो आएपछि सर्लाहीका प्रतिनिधिसभा सदस्य नरेन्द्र साह कलवार, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया तथा सुरक्षा निकायका प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो । सो क्रममा सर्लाहीको बरहथवा नगरपालिका–१, हजरिया सहनीटोल घाट तथा रौतहटको गढीमाई नगरपालिका र वृन्दावन नगरपालिका क्षेत्रअन्तर्गत पर्ने हरैया घाटमा अनियन्त्रित उत्खनन भइरहेको पाइएको हो ।
अनुगमन टोली पुग्नेबित्तिकै उत्खननमा संलग्न एक दर्जनभन्दा बढी टिपर र जेसिबी रौतहटतर्फ भागेको बताइएको छ । रौतहटतर्फ गढीमाई र वृन्दावन नगरपालिकाले सो क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएका छन् ।
तर सर्लाहीतर्फ बरहथवा नगरपालिकाले ठेक्का लगाउने प्रयास असफल भएपछि रौतहटतर्फबाट अनियन्त्रित रूपमा उत्खनन भइरहेको पाइएको छ । बागमती नदीको मलाहटोल र हरैया घाट क्षेत्रमा दुई जिल्लाबीच सीमा विवादसमेत रहेको छ ।
सीमा विवादको फाइदा उठाउँदै रौतहटतर्फबाट सर्लाहीतर्फ तटबन्ध नजिकै आएर अन्धाधुन्ध उत्खनन भइरहेको बरहथवा नगरपालिका–१ का वडाध्यक्ष राकेश सहनीले बताए । उनका अनुसार पटक–पटक रोक्न आग्रह गर्दा पनि सुनुवाइ नभएको र रातको समयमा स्काभेटर प्रयोग गरेर उत्खनन भइरहेको छ ।
जथाभावी उत्खननका कारण बागमती खोलामा दर्जनौँ स्थानमा ठूला खाल्डा बनेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अनुगमनका क्रममा मनपरी उत्खनन भएको पुष्टि भएको बताउँदै रौतहटका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिएको जानकारी दिए ।
उनले तत्कालै बैठक बसेर आवश्यक कदम चालिने बताए । यता, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सीमा विवाद समाधान र अनियन्त्रित उत्खनन रोक्न बुधबार दुवै जिल्लाका जनप्रतिनिधि, सुरक्षा अधिकारी तथा सरोकारवालासँग छलफल गरिने जानकारी दिएका छन् ।
बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाका अनुसार मलाहटोल घाटमा ठेक्का लगाउने प्रयास भए पनि कोही पनि ठेकेदार नआएकाले ठेक्का हुन सकेको छैन । नगरपालिकाले बागमती बजार घाट क्षेत्रमा मात्र ठेक्का लगाएको उनले बताए ।
अनुगमन टोली पुगेको सूचना पाएपछि उत्खननमा प्रयोग गरिएका तीन वटा स्काभेटर बजारघाट नजिकै मकैबारीमा लुकाइएको स्थानीयले बताएका छन् ।
नियमित अनुगमन नहुँदा बागमती नदीका विभिन्न घाटबाट दैनिक रूपमा मनपरी उत्खनन भइरहेको स्थानीयको गुनासो छ । जथाभावी उत्खननका कारण नदीको बाँध, खेत तथा बस्तीसमेत जोखिममा परेको उनीहरूको भनाइ छ ।