वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । यो सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ अर्ब २० करोड अर्थात् करिब १० प्रतिशतले बढी हो ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको नौ महिनामा निर्धारित लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सो अवधिका लागि १ खर्ब ९९ अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो ।
महिनागत विवरणअनुसार साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड राजस्व सङ्कलन गरिएको छ। त्यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड राजस्व उठेको छ ।
भन्सार विभागले चालु आर्थिक वर्षका लागि वीरगञ्ज भन्सार कार्यालयलाई कुल २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्म नौ महिनामा वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्र राजस्व सङ्कलन हुन सकेको छ । यद्यपि, आर्थिक वर्षका अझै तीन महिना बाँकी रहेकाले थप राजस्व सङ्कलन हुने सम्भावना रहेको कार्यालयले जनाएको छ।