काठमाडौं | प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङसँग सम्पत्ति विवरणमा लगानी तथा ऋणसम्बन्धी विवरण लुकाएको आरोपबारे लिखित स्पष्टीकरण माग गरेका छन् । शंकर समूह र दीपक भट्टसँग सम्बन्धित दुई कम्पनीमा संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीले उक्त कदम चालेका हुन् ।
सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यक्तिहरूसँग ५० लाख बराबरको साझेदारी रहेको तर सो विवरण सम्पत्ति विवरणमा उल्लेख नगरेको विषय बाहिर आएपछि प्रधानमन्त्री शाहले गृहमन्त्रीसँग स्पष्टिकरण मागेका हुन् ।
सार्वजनिक प्रमाण तथा शंकर समूह र भट्टसँगको सम्बन्धबारे प्रस्ट पार्न निर्देशन दिइएपछि गृहमन्त्री गुरुङले सोमबार साँझ लिखित जवाफ पेश गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले सेयर खरिदको आधार, लगानीको स्रोत, सम्बन्ध र सम्पत्ति विवरणमा नसमेटिनुको कारणबारे जानकारी मागेका थिए ।
जवाफमा गृहमन्त्री गुरुङले दुवै कम्पनीमा आफ्नो सेयर रहेको स्वीकार गर्दै उक्त सेयर ऋण लिएर खरिद गरेको दाबी गरेका छन् । तर, उनको सम्पत्ति विवरणको ‘ऋण’ शीर्षकमा कुनै पनि ऋण उल्लेख नभएको देखिएको छ । विवाद सार्वजनिक भएपछि भने उनले तमसुकसमेत प्रस्तुत गरेका छन् ।
यसै विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि गृहमन्त्रीसँग लिखित जानकारी मागेका थिए । गुरुङले उनलाई बुझाएको जवाफ पनि प्रधानमन्त्रीलाई दिएकै जस्तो रहेको स्रोतले जनाएको छ ।
गृहमन्त्रीको लगानी, भट्ट समूहसँगको सम्बन्ध र सम्पत्ति विवरणबीच देखिएको असंगतिबारे सोमबार साँझ प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच छुट्टै छलफल भएको बताइएको छ। उक्त विषयले सरकार र पार्टीको विश्वसनीयतामा असर पार्न सक्ने भन्दै गम्भीर रूपमा छलफल गरिएको स्रोतको दाबी छ ।
यसअघि श्रममन्त्री दीपक शाहलाई सरकारबाट फिर्ता बोलाइएको नजिर प्रस्तुत गर्दै सभापति लामिछाने गृहमन्त्री गुरुङको विषयमा पनि त्यस्तै कदम चाल्नुपर्ने पक्षमा रहेको बताइएको छ । यद्यपि, प्रधानमन्त्री शाह भने हालसम्म स्पष्ट निर्णयमा पुगेका छैनन् ।