रौतहट | जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध नलकटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको सार्वजनिक गरेको छ । प्रहरीले सोही क्रममा कागजपत्र नभएका एक कार र नौ वटा मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।
प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार ३ गते साँझ करिब ७ बजे बौधिमाई नगरपालिका–७ स्थित बन्कुलमा रहेको इँटा उद्योग नजिक सडकमा चेकजाँच गर्ने क्रममा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला अन्तर्गत मौवाह ग्राम पञ्चायत चनरमन गाउँका २० वर्षीय सूर्य कुमार दासलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार उनको साथबाट पाइन्टभित्र टी–सर्टले छोपेर राखिएको अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेको थियो । साथै, उनको साथबाट दुई वटा भारतीय सिमकार्ड र ओपो कम्पनीको एक मोबाइल फोन पनि बरामद गरिएको छ।
पक्राउ परेका दासलाई हाल जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, पछिल्ला दिनहरूमा जिल्लाका विभिन्न स्थानमा गरिएको सघन चेकजाँचका क्रममा कागजविहीन एक कार र नौ मोटरसाइकल बरामद गरिएको छ। गौर बसपार्क क्षेत्रबाट अवैध भारतीय सामानसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद सवारी साधनको अनुमानित मूल्य १९ लाख ५० हजार तथा अवैध सामानको मूल्य करिब रु ९५ हजार रहेको छ । कुल रु २० लाख ४५ हजार ११३ बराबरको सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।