जनकपुरधाम | मधेश प्रदेशमा प्रहरीभित्र देखिएको आर्थिक लेनदेनसम्बन्धी विवादले नयाँ मोड लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई निलम्बन गरिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आर्थिक लेनदेनसम्बन्धी विवाद र मोबाइल संवाद सार्वजनिक भएपछि प्रारम्भिक कारबाहीस्वरूप राणालाई निलम्बन गरिएको हो ।
प्रहरी स्रोतका अनुसार तस्कर र प्रहरीबीच भएको भनिएको मोबाइल संवाद बाहिरिएपछि घटनाले व्यापक चर्चा पाएको हो । उक्त संवादमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नामसमेत जोडिएको बताइएको छ ।
संवादमा तस्कर राजीव महासेठले विभिन्न व्यापारीहरूबाट रकम असुली गरी प्रहरीसम्म पुर्याएको दाबी गरिएको छ । तर डीआईजी थपलियाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफूलाई बदनाम गर्न संवाद सार्वजनिक गरिएको आरोप लगाएका छन् ।
यता, निलम्बित वरिष्ठ सई राणाले पनि आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनले विवाद टार्न व्यापारीसँग सम्पर्क गरेको स्वीकार गरे पनि आफू निर्दोष रहेको बताएका छन् ।
यसैबीच, घटनापछि मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबीच मतभेद उत्पन्न भएको चर्चा चलेको छ। यद्यपि, धनुषा प्रहरीले त्यस्तो कुनै विवाद नरहेको जनाएको छ ।
प्रहरीका अनुसार उक्त संवादमा अन्य प्रहरी कर्मचारीहरूको पनि नाम जोडिएको छ । धनुषाको इनर्वा नाकाबाट हुने तस्करी गतिविधिमा संलग्न समूहबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।