जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागुऔषध गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिक रहेको प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले भारत–नेपाल आवतजावत गर्ने यात्रुको जाँच गर्ने क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा रोकेको थियो । वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा लागुऔषध बरामद भएको हो ।
खानतलासीका क्रममा उनीहरूले शरीरको पेट तथा छातीको भागमा रातो प्लास्टिकमा बेरेर लुकाई छिपाई लैजाँदै गरेको ६ किलो १८ ग्राम गाँजा फेला परेको पर्साका प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य पश्चिम चम्पारण जिल्ला अन्तर्गत विभिन्न स्थानका ३५ वर्षीय सफि अहमद, ३३ वर्षीय विनय ठाकुर, ३३ वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्मद एकबाल रहेका छन् ।
प्रहरीले लागुऔषधसहित पक्राउ परेका उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।