धनुषाको मिथिला नगरपालिका – ६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले मंगलबार राति करिब ८ बजे पैदल हिँडिरहेकी मिथिला नगरपालिका – ६, ढल्केबरकी ३१ वर्षीया बिनिता कुमारी महतोलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मृतककी आठ महिनाकी काँखे बालिका र १६ वर्षीया अनुष्का कुमारी महतो घाइते भएका छन् । साथै मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएका छन् ।
घाइते तीनै जनाको ढल्केबरस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बलमे जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।