सिराहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई मङ्गलवार बिहानै नियन्त्रणमा लिइएको हो ।
प्राप्त जानकारी अनुसार दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीबन्दीको समूहले जबरजस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेपछि तनाव सुरु भएको थियो। कारागारभित्र गुटबन्दी गरी अशान्ति फैलाउने प्रयास भएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न बिहानै विशेष अप्रेसन सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार कैदीबन्दीले चौकीदारलाई निष्कासन गर्ने प्रयास गरेपछि सुरक्षा चुनौती बढेको थियो ।
“कारागारभित्र थप झडप हुन नदिन २२ जनालाई नियन्त्रणमा लिएका छौं,” उनले भने, “उनीहरूलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।”
यसअघि गत माघ महिनामा पनि कारागारभित्र कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भएपछि तत्कालीन चौकीदार इन्द्रजीत यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो । उक्त घटनापछि कैदीबन्दीहरूले विरोधस्वरूप दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए ।
कारागारभित्र पटक–पटक देखिँदै आएको विवाद र सुरक्षा चुनौतीले कारागार व्यवस्थापनप्रति प्रश्न उठ्न थालेको छ ।