वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–२ बस्ने, काठमाडौं महानगरपालिका–१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ राधेराधे बस्ने, मोरङको बेलबारी नगरपालिका–२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिनिता नगरकोटीले पोल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख २० हजार रुपैयाँ ठगी गरेकी थिइन् भने बेनु श्रेष्ठले जर्मनी पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट १६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन् ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिनितालाई मंगलबार कीर्तिपुर नगरपालिका–२ बाट र बेनुलाई सोमबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ राधेराधेबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।