जनअधिकार पार्टीले १०० रुपैयाँभन्दा माथिको सामानमा लगाइएको भन्सार नीतिको विरोधमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–स्थित राजविराज भन्सार कार्यालय नजिकै प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको छ ।
बुधबार आयोजित उक्त कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरदसिंह यादवको अगुवाइमा नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । सीमा क्षेत्रमा प्रदर्शन गरेपछि दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टे सांकेतिक धर्ना समेत दिइएको थियो ।
प्रदर्शनकारीहरूले चारबुँदे माग अघि सार्दै १०० रुपैयाँभन्दा बढीको सामानमा लाग्ने भन्सार शुल्क खारेज गर्न, भारतबाट मलखाद ल्याउन किसानलाई अनुमति कार्डको व्यवस्था गर्न, विपन्न परिवारलाई दैनिक उपभोग्य सामग्री ल्याउन अनुमति कार्ड उपलब्ध गराउन तथा नेपाल–भारतबीचको परम्परागत सम्बन्धलाई सम्मान गर्न माग गरेका छन् ।
धर्नामा सहभागी तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादवले सरकारको नयाँ भन्सार नीतिले विशेषगरी मधेशका जनतालाई मारमा पारेको भन्दै निर्णय पुनर्विचार गर्नुपर्ने बताए ।
त्यसैगरी स्थानीय विजय यादवले राजस्व वृद्धिका लागि ल्याइएको नीति सकारात्मक भए पनि विपन्न वर्गका लागि प्रतिकूल भएको उल्लेख गर्दै नेपालमै सस्तो दरमा उपभोग्य सामग्री उपलब्ध गराउने वातावरण बनाउनुपर्ने धारणा राखे । उनका अनुसार त्यसो गर्न सके नेपाली उपभोक्ता भारतीय बजारतर्फ जानुभन्दा आफ्नै गाउँठाउँका पसलमा आकर्षित हुनेछन् ।
स्थानीयवासीहरूले नयाँ भन्सार नीतिले सीमावर्ती क्षेत्रका जनजीवनमा प्रत्यक्ष असर पारेको भन्दै सरकारसँग तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन् ।