पछिल्ला केही दिनयता तराई–मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । आज पनि ती क्षेत्रमा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर (हीटवेभ) चल्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार आज कर्णाली प्रदेशबाहेक अन्य ६ प्रदेशका तराई तथा उपत्यकाका खोँचहरूमा तातो दिन रहने प्रक्षेपण गरिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले तातो लहरका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले घामबाट जोगिन, प्रशस्त पानी पिउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सुझाव दिएको छ ।
तापक्रम पूर्वानुमान:
आज बिहान सार्वजनिक गरिएको विवरण अनुसार केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
नेपालगञ्ज र भैरहवा मा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान छ । भैरहवामा ४०–४२ डिग्री र नेपालगञ्जमा ३९–४१ डिग्री रहने प्रक्षेपण गरिएको छ ।
जनकपुर, दिपायल र धनगढी मा अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस रहने अनुमान छ ।
सिमरा मा अधिकतम तापक्रम ३६–३८ डिग्री सेल्सियस रहने बताइएको छ ।
आगामी शुक्रबार र शनिबार राति देशका हिमाली भू–भागमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।