कलैया उपमहानगरपालिकास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रामजानकी मन्दिरको सयौं बिघा जग्गा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि त्यसलाई खाली गराउनेतर्फ उपमहानगरपालिका उदासीन देखिएको छ ।
मन्दिरसँग जोडिएको सार्वजनिक सम्पत्ति संरक्षणमा जिम्मेवार निकायको निष्क्रियताप्रति स्थानीयवासीमा तीव्र असन्तोष बढ्दै गएको छ ।
स्थानीयका अनुसार वर्षौंदेखि मन्दिरको जग्गा विभिन्न व्यक्तिहरूद्वारा कब्जा गर्दै पक्की संरचना निर्माण गर्ने क्रम जारी रहे पनि सम्बन्धित निकायले प्रभावकारी हस्तक्षेप नगर्दा अतिक्रमण झन् बढ्दो क्रममा छ । यसले धार्मिक सम्पदाको संरक्षण मात्र होइन, समग्र क्षेत्रको व्यवस्थित विकासमा समेत गम्भीर असर पारिरहेको छ ।
केही समयअघि उपमहानगरपालिकाले बालमन्दिर क्षेत्रको उत्तरतर्फ सडक तथा नाला निर्माण गर्ने क्रममा अतिक्रमित जग्गा खाली गराउने प्रयास गरेको थियो । तर उक्त प्रयास आंशिक रूपमा मात्र सफल भयो । पूर्वतर्फको अतिक्रमण हटाएर सडक र नाला निर्माण गरिए पनि पश्चिमतर्फ कुनै कारबाही नगरिँदा निर्माण कार्य अधुरै रह्यो । परिणामस्वरूप एकातर्फ मात्र नाला बनेको छ भने अर्कोतर्फ नाला निर्माण हुन नसक्दा वर्षायाममा पानी जम्ने र निकास अवरुद्ध हुने समस्या झन् जटिल बन्दै गएको स्थानीयको गुनासो छ ।
यस विषयमा करिब तीन महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयमा औपचारिक उजुरी दर्ता भएको थियो । उजुरीपछि अख्तियारले उपमहानगरको प्राविधिक टोली परिचालन गरी अतिक्रमित क्षेत्रको स्थलगत अध्ययनसमेत गराएको थियो । सो अध्ययनका क्रममा कम्तीमा चारजनाले मन्दिरको जग्गा अतिक्रमण गरेको पुष्टि भएको थियो । प्राविधिक प्रतिवेदनअनुसार तीनजनाले पक्की घर निर्माण गरिसकेका छन् भने एकजनाले खाली जग्गा कब्जा गरेर प्रयोग गरिरहेको पाइएको छ ।
तर प्रतिवेदन सार्वजनिक भएपछि पनि अतिक्रमण हटाउनेतर्फ कुनै ठोस कदम नचालिँदा सरकारी संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ । झन् अतिक्रमणमा संलग्न केही व्यक्तिहरूले हाल आफ्ना भवनमा थप तला निर्माण गर्ने काम तीव्र रूपमा अघि बढाइरहेका छन् । यसप्रति उपमहानगरपालिका मौन रहनु र अख्तियारबाट समेत कडाइ नदेखिनुले समस्या समाधानतर्फ कुनै प्रगति नभएको स्थानीयको आरोप छ ।
अतिक्रमण र अधुरो नाला निर्माणकै कारण क्षेत्रका घरहरूबाट निस्कने पानीको निकास पूर्ण रूपमा प्रभावित भएको छ । वर्षायाममा पानी जम्ने, दुर्गन्ध फैलिने तथा स्वास्थ्य जोखिम बढ्ने समस्या देखिएको स्थानीय बताउँछन् । यसले दैनिक जनजीवन कष्टकर बनाएको छ भने दीर्घकालीन रूपमा शहरी व्यवस्थापनमा चुनौती थपिएको छ ।
स्थानीयवासीले सम्बन्धित निकायलाई शीघ्र, निष्पक्ष र प्रभावकारी ढंगले अतिक्रमण हटाई मन्दिरको जग्गा संरक्षण गर्न तथा अधुरा पूर्वाधार निर्माण कार्य सम्पन्न गर्न माग गरेका छन् । उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षणमा लापरबाही नगर्न चेतावनी दिँदै आवश्यक परे थप आन्दोलनका कार्यक्रमसमेत अघि बढाउने संकेत गरेका छन् ।