रौतहटको डिभिजन वन कार्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार तथा वन दोहन भएको आरोप लगाउँदै मधेस प्रदेश सरकारसमक्ष उजुरी दर्ता गरिएको छ ।
चुरे तथा वनजंगल संरक्षण अभियान, नेपाल का अध्यक्ष सुनिल कुमार यादव ले मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी समक्ष डिभिजन वन प्रमुख हेमन्त साहमाथि छानबिनको माग गर्दै बिहीबार उजुरी दिएका हुन् ।
उजुरीमा डिभिजन वन प्रमुख साहमाथि सरकारी वन स्रोतको दुरुपयोग, मिलेमतोमा काठ बिक्री, सामुदायिक वनको रकम अपचलन तथा तस्करीलाई संरक्षण दिएको आरोप लगाइएको छ ।
सखुवाको काठ आपूर्ति प्रक्रियामा अनियमितता गरी सर्वसाधारणलाई सहुलियत दरमा काठ नदिई स–मिलहरूसँग मिलेमतो गरेर कम मूल्यमा बिक्री गरिएको दाबी गरिएको छ । साथै काठ बिक्रीमा प्रतिफिट कमिसन असुल्ने गरिएको आरोप पनि लगाइएको छ ।
त्यसैगरी, सामुदायिक तथा साझेदारी वनको व्यवस्थापनका लागि विनियोजित करिब २० लाख रुपैयाँ अनियमित रूपमा फिर्ता लिई दुरुपयोग गरिएको उजुरीमा उल्लेख छ । विभिन्न उपभोक्ता समूहहरूको खाताबाट रकम निकालेर अपारदर्शी खर्च गरिएको भन्दै त्यसको अडिट तथा बैंक विवरण जाँच गर्न माग गरिएको छ ।
उजुरीमा गैडाटार क्षेत्रमा करिब ५ हेक्टर जंगल फँडानी गरी घुस लिएको, प्रमाण लुकाउन वृक्षारोपण गरिएको तथा महत्त्वपूर्ण फाइल नष्ट गर्न आगजनी गराइएको जस्ता गम्भीर आरोप पनि समावेश छन् । नुनथर क्षेत्रमा कानुन विपरीत संरचना निर्माण गराउन आर्थिक चलखेल भएको, काठ तस्करीलाई सहयोग गरिएको र प्रमाण नष्ट गर्न आगो लगाइएको दाबी गरिएको छ ।
वन क्षेत्रमा व्यापक तस्करी तथा अवैध फँडानी भइरहेको भन्दै उजुरीकर्ताले सम्बन्धित निकायको भूमिका माथि पनि प्रश्न उठाएका छन् । चुरे क्षेत्रमा क्रसर उद्योगबाट भइरहेको दोहनप्रति पनि ध्यानाकर्षण गराइएको छ ।
उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय वन तथा वातावरण मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा समेत पठाइएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगरे थप कानुनी कदम चाल्ने चेतावनी दिइएको छ ।
मन्त्री चौधरीले उजुरीमा उल्लेखित विषयमा छानबिन गर्ने प्रतिबद्धता जनाउँदै वन क्षेत्रमा भइरहेका अवैधानिक गतिविधि नियन्त्रणका लागि कडा कदम चालिने बताएका छन् ।