नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ। आज नेप्से सूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा कायम भएको छ, जुन ०.६० प्रतिशतको गिरावट हो।
पछिल्ला चार कारोबार दिनदेखि शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज घटेर २७८७ बिन्दुमा झरेको हो ।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज घटेर ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । आज ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ९३ हजार ९०७ पटक किनबेच भएका छन् ।
आजको बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत आधारमा उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशत र व्यापार समूह ०.४३ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूह घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ ।
यसैगरी बैंकिङ ०.७६, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेड को शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड को शेयर मूल्य ९.२४ प्रतिशतले वृद्धि भएको छ ।