धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदी मा निर्माणाधीन पुलको काम लामो समयदेखि रोकिएको भन्दै तत्काल प्रक्रिया अघि नबढाइए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
नयाँ कमला पुल निर्माण संघर्ष समितिले सात दिनको अल्टिमेटम दिँदै विगतमा भएका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेको हो । समितिले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव लाई स्मरणपत्र बुझाउँदै २०८१ भदौ ७ गते भएको सहमति अझै कार्यान्वयन नभएको उल्लेख गरेको छ ।
दुई वर्ष बित्न लाग्दासमेत पुल निर्माणको ठेक्का प्रक्रिया सुरु नगरिएको भन्दै समितिले जनतालाई भ्रममा राखिएको आरोप लगाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ सकिन लाग्दा पनि निर्माण प्रक्रिया अघि नबढाइएको र जीर्ण अवस्थामा रहेको पुरानो पुलको प्रभावकारी मर्मतसमेत हुन नसकेको गुनासो गरिएको छ ।
समितिका अनुसार प्रस्तावित पुलको डिजाइनमै त्रुटि रहेको र बाँध निर्माणको ठेक्का प्रक्रिया पनि अघि नबढेकाले आगामी दिनमा समस्या अझ जटिल बन्न सक्ने चेतावनी दिइएको छ । केन्द्र सरकारबाट पटक–पटक म्याद थपिँदा स्थानीयमा अन्योल बढेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
स्मरणपत्र बुझ्दै मुख्यमन्त्री यादवले पुल निर्माणका लागि प्रदेश सरकारले पहल गर्दै आएको र बजेटसमेत विनियोजन गरिएको भए पनि परियोजना संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रक्रिया अघि बढ्न नसकेको स्वीकार गरेका छन् । उनले संघीय सरकारसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता जनाए ।
संघर्ष समितिले सात दिनभित्र ठोस प्रगति नभए अनशन, चक्काजाम तथा सडक अवरोधजस्ता कडा आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ ।