मधेस प्रदेशमा यस वर्ष आँप उत्पादन अपेक्षाभन्दा कम हुने चिन्ता कृष्कलाई सताएकाे छ ।
अत्यधिक फूल लागेकाले उत्पादन दोब्बर हुने अनुमान गरिएपनि वैशाखको सुरुवात मै आएको तीव्र हावाहुरीले आँपकाे फूलमा ठूलो क्षति पुर्याएको कृष्कहरूले गुनासाे गरेकाे छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत रवि बस्नेतका अनुसार यस वर्ष आँपका बोटमा विगतभन्दा राम्रो फूल लागेको भए पनि हावाहुरीले मञ्जरी झारिदिँदा उत्पादनमा गिरावट आउने देखिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमा आँप उत्पादन औसत १२.९४ प्रतिशत रहेको थियो । जिल्लागत रूपमा बारा १३.४४, पर्सा १३.२२ प्रतिशत, धनुषा १२.८४, सिरहा १२.९२, महोत्तरी र सर्लाही १३.१२ र रौतहट १२.९९ उत्पादन भएको तथ्यांक छ । अधिकृत बस्नेतका अनुसार, “यस वर्ष मनग्य उत्पादन हुने अपेक्षा थियो तर हावाहुरीले ठूलो क्षति पुर्यायो । अहिलेको अवस्थामा ५ देखि १० प्रतिशत मात्र वृद्धि हुन सक्ने अनुमान छ ।” किसानहरूले पनि मौसमको असरले उत्पादन घट्ने निश्चित भएको बताएका छन् । विशेषगरी धनुषाको बटेश्वर गाउँपालिकाका किसानहरूका अनुसार बोटमा लागेको अधिकांश फूल झरेपछि फल लाग्ने सम्भावना निकै कम भएको छ ।
धनुषा जिल्ला का बटेश्वर गाउँपालिका का किसान राजकुमार महतोले यस वर्ष उत्पादन घट्दा आर्थिक असर पर्ने बताएका छन् । उनका अनुसार आँप खेती स्थानीय किसानको प्रमुख आम्दानी स्रोत हो । कृषि ज्ञान केन्द्र धनुषा का प्रमुख रामचन्द्र यादवले पछिल्ला वर्षहरूमा मौसमको अनियमितताले कृषि उत्पादनमा प्रत्यक्ष असर पारिरहेको बताए। हावाहुरी, असिना र अत्यधिक तापक्रमका कारण बालीमा क्षति बढ्दै गएको उनको भनाइ छ ।
विशेषज्ञहरूले बाली बीमा, मौसम पूर्वानुमान प्रणाली सुदृढीकरण र किसानलाई समयमै सूचना उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । साथै आँपलाई हावाहुरीबाट जोगाउन आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ । यसैबीच जनकपुर बजारमा भारतीय आँप समयभन्दा पहिले नै भित्रिन थालेको छ । स्वास्थ्यकर्मीहरूले रसायन प्रयोग गरी पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
यस वर्ष उत्पादन घट्ने संकेतसँगै बजारमा आँपको मूल्य भने महँगो नै रहने अनुमान गरिएको छ ।