जनकपुरधाम | मधेस प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । मधेस प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको अधिवेशन अन्त्य गर्न लागिएको हो ।
विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको उल्लेख छ ।
यसअघि मन्त्रिपरिषद्को वैशाख ९ गते बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा अधिवेशन अन्त्यको औपचारिक घोषणा गरिएको हो ।
प्रदेशसभाको अधिवेशन अन्त्यसँगै अब नयाँ अधिवेशन आह्वानको प्रक्रियातर्फ प्रदेश सरकार अघि बढ्नेछ । राजनीतिक वृत्तमा भने अधिवेशन अन्त्यलाई आगामी नीति तथा कार्यक्रम, बजेट तयारी र राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ ।