जनकपुरधाम । धनुषा जिल्लाका अधिकांश स्थानीय तहहरूले सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सक्रियता बढाएका छन् । मिथिला, गणेशमान चारनाथ, छिरेश्वरनाथ, मिथिला बिहारी र सहिदनगरलगायतका स्थानीय तहहरूले पूर्वसूचना जारी गर्दै अतिक्रमण हटाउने अभियान सञ्चालन गरेका हुन् ।
यसैक्रममा मिथिला नगरपालिकाले पहिलो चरणमा ढल्केबर चोक क्षेत्रमा पूर्व–पश्चिम लोकमार्ग तथा सहायक मार्ग मिचेर बनाइएका पक्की भवन तथा टहरा हटाउन सुरु गरेको छ । सडक विस्तार र व्यवस्थित सहरी विकासलाई ध्यानमा राख्दै अतिक्रमण हटाउने कार्य अघि बढाइएको नगरप्रमुख महेन्द्र महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार सार्वजनिक तथा सडक मापदण्ड मिचेर बनाइएका सबै संरचना खाली गराइनेछ । पूर्व–पश्चिम लोकमार्ग तथा दुर्गा मन्दिर सहायक मार्ग क्षेत्रमा रहेका अतिक्रमित संरचनाहरू क्रमशः हटाइने र सडकको मापदण्ड कायम गरी आवागमन सहज बनाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
यस्तै, छिरेश्वरनाथ नगरपालिकाले पनि सार्वजनिक स्थान तथा सडकपेटीमा राखिएका सामग्री हटाउन थालेको छ । नगरप्रमुख सुखदेव यादवले तीन दिनदेखि अभियान सञ्चालनमा रहेको जानकारी दिँदै सडकलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने उद्देश्य राखिएको बताउनुभयो। उहाँले अभियान नगरपालिकाका सबै १० वटै वडामा विस्तार गरिने उल्लेख गर्दै स्थानीयवासीलाई अतिक्रमण हटाउन आग्रह गर्नुभयो ।
सहिदनगर नगरपालिकाले पनि मुख्य सडक क्षेत्रबाट अतिक्रमण हटाइसकेको जनाएको छ । नगरप्रमुख दिनेशप्रसाद यादवका अनुसार पूर्वसूचना दिए पनि खाली नगरेका स्थानमा जेसिबी प्रयोग गरी संरचना हटाइएको छ । यस क्रममा हुने सम्भावित क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीय तहका प्रमुखहरूका अनुसार सडकपेटी अतिक्रमणका कारण सवारी दुर्घटनाको जोखिम बढ्ने, साथै आगलागी जस्ता विपद्का बेला दमकल समयमै पुग्न कठिनाइ हुने समस्या देखिएकाले अभियानलाई तीव्रता दिइएको हो । केही समय असहजता भए पनि दीर्घकालीन रूपमा यो अभियान सबैका लागि लाभदायक हुने उनीहरूको भनाइ छ ।