महोत्तरीको बर्दिबासमा एक नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१३ बिजलपुरा टोल निवासी ४५ वर्षीय शिव शंकर आले मगर (बेचु) रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, स्थानीय १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
सोही आधारमा आरोपितलाई घर नजिकैबाट फेला पारी तत्काल नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेका आले मगरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
यसैबीच, पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा बयान लिने कार्य जारी रहेको छ भने आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।