रौतहट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका लाखौँ मूल्य बराबरका सामान, सवारी साधन र एक जना चालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालिका–३ बाट अवैध सामग्री बोकेको पिकअप भ्यानसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी ल्याइएको २९ सय किलोग्राम तोरी र ३ सय ५० किलोग्राम सरसो लोड गरिएको ज.१ च.१३४३ नम्बरको पिकअप गाडी बरामद गरिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका–७ निवासी २५ वर्षीय चालक पवन साहलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार बरामद तोरी र सरसोको बजार मूल्य करिब ३ लाख ९० हजार रुपैयाँ र पिकअप गाडीको मूल्य २० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यसैबीच, प्रहरीले अर्को कारबाहीका क्रममा भारतबाट भन्सार छली गरी ल्याउँदै गरिएको १० हजार ५ सय ३० रुपैयाँ बराबरको डिजल (दुई जर्किनमा) र ५० हजार रुपैयाँ बराबरको बीआर ०५ एल ४५६० नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
पक्राउ परेका चालक, बरामद गरिएका सामान तथा सवारी साधन गरी कुल २४ लाख ५० हजार ५ सय ३० रुपैयाँ बराबरको अवैध सामग्री आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको डीएसपी बस्यालले जानकारी दिए ।
पछिल्लो समय रौतहट प्रहरीले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सक्रियता बढाउँदै निगरानी कडा बनाएको जनाएको छ ।