जिल्ला प्रशासन कार्यालय सिरहाले बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित हुन थालेपछि सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्ला केही दिनदेखि जिल्लामा अत्यधिक गर्मी बढ्नुका साथै तातो हावाको लहर (लू) चलिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी व्यक्तिहरू बढी जोखिममा पर्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्किन अनुरोध गरिएको छ । अत्यावश्यक कामका लागि बाहिर निस्किनु परेमा छाता ओढ्ने, टोपी लगाउने वा कपडाले टाउको ढाक्ने जस्ता सावधानी अपनाउन सुझाव दिइएको छ ।
प्रशासनले शरीरमा पानीको कमी हुन नदिन प्रशस्त मात्रामा सफा पानी तथा झोलिलो पदार्थ—जुस, लस्सी, सर्वत आदि—सेवन गर्न आग्रह गरेको छ । साथै, हल्का, पातलो र सुती कपडा लगाउन तथा लामो समयसम्म घाममा बस्ने वा काम गर्ने गतिविधि घटाउन पनि सुझाव दिइएको छ ।
यस्तै, सकेसम्म चिसो र हावायुक्त स्थानमा बस्न, घरभित्र रहेका बालबालिका, वृद्ध तथा बिरामी व्यक्तिहरूको विशेष हेरचाह गर्न प्रशासनले अनुरोध गरेको छ ।
तातो हावाका कारण टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने, कमजोरी महसुस हुने वा बेहोस हुने जस्ता लक्षण देखिन सक्ने भएकाले यस्ता समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।